संविधान कार्यान्वयन र समाज विकासमा बजेट नीतिको भूमिका महत्वपूर्ण : सन्तोष परियार
‘हामीले समाजको विकास गर्नुपर्छ। व्यक्तिको चिन्तन र संस्कारको विकास गर्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्र पनि आफैंमा विकास हुँदै जाने एउटा सर्वोच्च राजनीतिक प्रणाली हो।’
काठमाडौं, वैशाख २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई संविधान कार्यान्वयनको बलियो हतियारका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको १५५ बुँदे नीति तथा कार्यक्रममाथि धारणा राख्दै परियारले वर्तमान राजनीतिक व्यवस्थाप्रति जनविश्वास निर्माण गर्नु आजको आवश्यकता रहेको बताएका हुन्।
‘बजेटलाई आर्थिक कार्यक्रमहरुमा हामीले संविधान कार्यान्वयन गर्ने एउटा बलियो हतियारको रुपमा प्रयोग गर्न सक्नुपर्छ। संविधानमा जनताका अधिकारहरुलाई सुनिश्चित त गर्यौं तर त्यसको कार्यान्वयन गर्ने भनेको अर्थिक पाटोबाट हो। जनताको मौलिक अधिकार जुन हामीले संविधानमा व्यवस्था गरेका छौं,’ उनले भने, ‘त्यसको कार्यान्वयन गराउनका लागि हरेक आर्थिक वर्षको आर्थिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ। यो संविधान कार्यान्वयन गर्न पनि यो बजेटले यो नीति तथा कार्यक्रमले ति कार्यक्रमहरु ल्याउनुपर्छ।’
सांसद परियारले भौतिक मात्र नभई सामाजिक विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘हामीले समाजको विकास गर्नुपर्छ। व्यक्तिको चिन्तन र संस्कारको विकास गर्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्र पनि आफैंमा विकास हुँदै जाने एउटा सर्वोच्च राजनीतिक प्रणाली हो।’