‘संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ’
नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको उल्लेख।
सुनसरी, वैशाख २७ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताए।
नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौं प्रदेश सम्मेलनमा उनले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए। नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको उल्लेख।
‘संघीयतामा जानु भनेको संघीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ। भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ । यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन,’ उनले भने।
नेता सिटौलाले दुई ठूला एमाले र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे।
‘अब सबै दलहरूले एकपटक छलफल गर्ने बेला आएको छ। संघीय राज्य व्यवस्थाले जनताको अपेक्षालाई कतिको सम्बोधन गर्न सकेको छ भन्ने कुरा सबै दलले एकपटक सोच्न आवश्यक छ,’ उनले भने।