आठ वर्ष पुराना मुद्दा असार मसान्तभित्रै शून्य बनाईँदै छ : प्रधानन्यायाधीश
उच्च अदालत एवम जिल्ला अदालतहरुले दुई वर्ष नाघेका पुराना मुद्दाहरुलाई शून्य बनाउने र जुनसुकै मुद्दालाई पनि १८ महिना नाघ्न नदिने लक्ष्यमा अधिकाधिक सफलता हासिल भएको तथ्याङ्कहरुले देखाइरहेको भनाई राउतको थियो।
काठमाडौं, चैत २६ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा रहेका आठ वर्ष पुराना मुद्दा असार मसान्तभित्र शून्य बनाइने बताएका छन्। राउतले उक्त लक्ष्यमा सफलता हासिल भइरहेको समेत बताए।
७३ औँ कानून दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार आयोजित चियापान समारोहमा प्रधानन्यायाधीश राउतले यस्तो भनाई राखेका हुन्।
उनले सर्वोच्चको समग्र मुद्दा फछ्र्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा पछिल्लो ३ वर्षदेखि संख्यात्मक वृद्धि भएको जानकारी समेत दिए।
उच्च अदालत एवम जिल्ला अदालतहरुले दुई वर्ष नाघेका पुराना मुद्दाहरुलाई शून्य बनाउने र जुनसुकै मुद्दालाई पनि १८ महिना नाघ्न नदिने लक्ष्यमा अधिकाधिक सफलता हासिल भएको तथ्याङ्कहरुले देखाइरहेको भनाई राउतको थियो।
२०८१ साल साउन १ गतेबाट न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन प्रारम्भ भएको बताउँदै न्याय सम्पादनलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, सुशासन तथा न्यायपालिका प्रतिको जनआस्था अभिवृद्धि गर्ने, न्यायपालिकामा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने तथा मानव संशाधन तथा भौतिक पूर्वाधार विकास समेतका पाँचवटा प्राथमिकताहरुमा सर्वोच्चका कार्यक्रमहरु केन्द्रित भएको जानकारी पनि उनले गराए।
गत २०८१ चैत २ गते देखि काठमाडौं उपत्यकाका तीन जिल्लाहरुको अधिकारक्षेत्र रहने गरी उपभोक्ता अदालत र २०८२ वैशाख २ गते देखि काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोक जिल्ला अदालत समेतको अधिकारक्षेत्र रहने गरी बाल अदालतको स्थापना गरिएको समेत राउतले बताए।