‘सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता छैन’
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए।
काठमाडौं, वैशाख २५ : नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता कम रहेको बताएका छन्।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए।
‘हाम्रो जस्तो देशमा नीति तथा कार्यक्रम सिमान्तकृत र गरिबीको रेखा मुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा नै केन्द्रीत हुनुपर्छ,’ उनले भने, ‘मुलुक ऋणको भारि र भ्रष्ट्राचारको महामारिले गर्दा शिकिस्त बिरामी छ । भ्रष्ट्राचार, कुशासन, विधि बिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता र इच्छाशक्ति मैले यसमा कम देखेको छु।’
यस्तै, उनले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न नसकेको भन्दै यसलाई कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भिर भएर सरकारले हेर्नुपर्ने बताए।
‘संक्रमण न्याय निरुपनको कुरा १८ वर्ष सम्म अलमलि रहेको छ। अझसम्म मेलमिलाप आयोग गठन हुन नसक्नु दुखद कुरा भएको छ,’ उनले भने, ‘दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न सकेको छैन, ३१ प्रतिशत मात्र छ। यसलाई हामीले कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भिर भएर सरकारले हेर्नुपर्ने आवश्यकता छ।’