सरकार परिवर्तनको सम्भावना छैन, कांग्रेसबाट गठबन्धनमा धोका हुँदैन : सिटौला
‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने।-1746629862.jpg)
रामेछाप, वैशाख २४ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।
नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए।
‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने।
दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिले काहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए। ‘दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छ नै, त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउँदै जानुहुन्छ, मिल्छ’, उनले भने।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक–पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे। त्यसैले कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए।
उनले भने, ‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौ।’
सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए। त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।
पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिँदै उनले पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने बताए।