भूमि सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ प्रतिनिधिसभामा दर्ता गरेका हुन्।
काठमाडौं, वैशाख २३ : हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्तावसहितको विधेयक मंगलबार प्रतिनिधिसभामा दर्ता भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ प्रतिनिधिसभामा दर्ता गरेका हुन्।
प्रस्तावित विधेयकमा भूमि सम्बन्धी ऐन, २०२१ का विभिन्न दफा संशोधनको प्रस्ताव गरिएको छ। उक्त बिषयमा सरकारले यसअघि अध्यादेश ल्याए पनि संसद्बाट अगाडि बढ्न नसकेपछि सरकारले अर्को विधेयक ल्याएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा खरिद गर्न सक्ने तर बेचविखन गर्न सक्ने वा नसक्ने भन्ने सम्बन्धमा द्विविधा हटाउन आवश्यक रहेको बताएको छ।
उक्त विधेयकमा घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्ने जस्ता प्रावधान राखिएका छन्।












