नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती छैन : मन्त्री पौडेल
मन्त्री पौडेलले जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिति बनाउन जरुरी रहेको बताए।
काठमाडौं, वैशाख २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती नरहेको बताएका छन्।
मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहे पनि काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको बताए।
‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिती छैन। तर टिक्ने कुरा असाध्यै मुस्किल छ। टिकाउने कुरा असाध्यै गाह्रो बनिरहेको छ। काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति छ। तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिति छ,’ उनले भने, ‘त्यसैले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने र काठमाडौं बाहिर दुरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती खटिने स्थिती हामीले बनाउन सक्नुपर्छ। त्यसका लागि उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ।’
मन्त्री पौडेलले जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिति बनाउन जरुरी रहेको बताए।
स्वास्थ्य जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउन आवश्यक रहेको उनले बताए। उनले २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था भएपनि नेपालमा टिकाउन गाह्रो रहेको बताए।
‘जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती हामीले बनाउन जरुरी छ । २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘अबको पाँच, सात वर्षपछि गंगालालमा मुटु उपचारको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने स्थिति छ। सातै प्रदेशमा क्यानसर सेवा विस्तार गरेका छौं। हामीहरुको उपचारात्मक प्रणालीमा जनशक्तिको प्रयाप्तता पुर्याउन आवश्यक छ।’