केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा मृत्युको सत्यतथ्य पत्ता लगाउन सभामुखको रुलिङ
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रिशाको मृत्युबारे आवाज उठाएपछि सभामुख घिमिरेले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिए।
काठमाडौं, वैशाख २२ : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रिशाको मृत्युबारे आवाज उठाएपछि सभामुख घिमिरेले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिए।
‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो,’ सभामुख घिमिरेले रुलिङ गर्दै भने, ‘सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु।’
यस्तै, सभामुख घिमिरेले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहल गर्न सरकारलाई निर्देश गरेका छन्।
