Kathmandu Press

विकल पौडेलसहित ३ जना दोषी ठहर, ४० करोड ७५ लाख जरिवाना र जेल सजायको फैसला

अदालतले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। उक्त रकम दामासाहीले तीनजना प्रतिवादीबाट असुल्न फैसला भएको छ।
विकल पौडेलसहित ३ जना दोषी ठहर, ४० करोड ७५ लाख जरिवाना र जेल सजायको फैसला

काठमाडौं, वैशाख २१ : प्रिन्टिङ मेसिन खरिद भ्रष्टाचार प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अदालतबाट दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो। 

Hardik ivf

अदालतले पौडेलसँगै म्याक्स इन्टरनेसनल प्रालि र उक्त कम्पनीका सीईओ अकबर हुसेनलाई पनि भ्रष्टाचारी ठहर गरेको छ। सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा मुद्दा दायर गरेको थियो।

अदालतले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। उक्त रकम दामासाहीले तीनजना प्रतिवादीबाट असुल्न फैसला भएको छ। अदालतको फैसला वमोजिम पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र उक्त प्रालिका सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुल हुनुपर्ने ठहर भएको छ।

साथै, अदालतले अपराधपीडित संरक्षण ऐन बमोजिम तीनै प्रतिवादीबाट जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न समेत फैसलामा भनेको छ । 

पौडेललाई दुई वर्ष कैद सजाय ठहर भएको छ। पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेका कारण थप ६ महिना कैद सजाय समेत तोकिएको छ । यस्तै, हुसेनलाई एक बर्ष ६ महिना कैद ठहर भएको छ। 

पौडेलसँगै भ्रष्टाचार मुद्दा चलाइएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेले भने अभियोगबाट सफाई पाएका छन्। 

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्