स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने।-(2)-1746357958.jpeg)
लमजुङ, वैशाख २१ : राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताएका छन्। उनले यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरे।
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने।
विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पु¥याएको सहयोगलाई कहिल्यै विर्सन नहुने उनले बताए।
‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने।
ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्षअनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो।
‘कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणको लागि म आग्रह गर्दछु’, उनले भने।