कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने
विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको समेत उनले सुनाए।-1746280080.jpg)
काठमाडौं, वैशाख २० : नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरु पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।
बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए।
‘मुख्यरुपमा हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो। नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन्। जुन राष्ट्रिय आवश्यकताहरु हुन्,’ उनले भने, ‘हामीले चाहेका कुराहरु समेटिएर आएको हुनाले यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकरात्मक र रचनात्मक सुझावहरु सहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने भन्ने निर्णय भएको छ।’
उनले आगामी बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेट तर्जूमा गरियोस् भन्नको लागि त्यससम्बन्धि पनि नियर्ण गरिएको बताए।
विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको समेत उनले सुनाए।
यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए।
