‘क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ’
उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन। अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ।’-(4)-1746279544.jpeg)
काठमाडौं, वैशाख २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिस्टहरु एक हुनपर्ने बताएका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित माओवादी पुनर्मिलन कार्यक्रममा पुनः माओवादी केन्द्रमा फर्केका नेताहरूलाई स्वागत गर्दै अध्यक्ष दाहालले पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।
‘ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुआत हो,’ उनले भने।
अध्यक्ष दाहालले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे।
‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,’ उनले भने। आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले माओवादी घटकहरू विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे।
उनले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताए। उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन। अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ।’
नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै अध्यक्ष दाहालले अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए।