सीमामा सशस्त्र प्रहरीको पाँच गुणा बीओपी थप्ने सरकारको तयारी
काठमाडाैं, वैशाख २२ : गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीको बीओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ।
....
काठमाडाैं, वैशाख २२ : गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीको बीओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले हाल सीमामा १२१ बीओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने तयारी गरेको हो।
नेपालतर्फको सीमानाकामा भारतकाे ५३० बीओपी रहेकोमा नेपालले पनि साेही अनुपातमा बीओपी थप्ने तयारी गरेकाे हाे। प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ। हाल सरदर १५ किलोमिटरकाे दूरीमा रहेकाे बीओेपी त्यसपछि ३.५ किलोमिटर सीमामा रहनेछ।
बीओपी थप सम्बन्धि गृह मन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बीओेपी थप सम्बन्धि प्रस्ताव आफूले मन्त्रिपरिषद्मा लैजाने बताए।
उनले सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बीओपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका थिए।
शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य शर्त रहेकाे बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए।
तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बीओेपी स्थापना प्रक्रिया अगाडि बढाइने उनले प्रतिवद्धता जनाएका थिए।
गृहसचिव महेश्वर न्याैपानेले सीमाकाे विषय संवेदनशील विषय भएकोले सीमाबाट हुने अपराध, चाेरी, तस्करी नियन्त्रणका लागि समेत बीओेपी बढाउनुकाे विकल्प नरहेको बताए।
यसअघि बीओपीमा करिब ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सीमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति थपिएको हाे। गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलाे संख्यामा सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्।
सशस्त्रको १२१ स्थानमा मात्रै बीओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सीमा सिलपछि त्यसलाई विस्तार गरेर १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट विस्तार गरिएको सशस्त्रले जनाएकाे छ।











