केआईआईटी घटनाको विस्तृत अनुसन्धान भइरहेको छ : भारतीय विदेश मन्त्रालय
मन्त्रालयले नेपाली अधिकारी, ओडिसा सरकार तथा केआईआईटी व्यवस्थापनसँग हामी निरन्तर सम्पर्क र समन्वयमा रहेको पनि जनाएको छ।
काठमाडौं, वैशाख १९ : भारतीय विदेश मन्त्रालयले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु प्रकरणमा शोक व्यक्त गरेको छ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेको हो। शोक वक्तव्यमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरिएको छ।
भारतीय विदेश मन्त्रालयले शोक वक्तव्यमा भनेको छ, ‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ। ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’
मन्त्रालयले विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत जनाएको छ। मन्त्रालयले नेपाली अधिकारी, ओडिसा सरकार तथा केआईआईटी व्यवस्थापनसँग हामी निरन्तर सम्पर्क र समन्वयमा रहेको पनि जनाएको छ।
वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाहले स्नातक प्रथम वर्षमा अध्ययन गर्दै थिइन्। उनको मृत्यु भएको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेको जनाइएको छ। यसअघि फागुन दोस्रो साता पनि केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो।