‘न्यायाधीश मैनाली र भण्डारीले जातीय नरसंहार भड्काउने नयाँ आन्दोलन बिजारोपण गरे’
दलित अभियन्ता खगेन्द्र सुनारले न्यायाधीशहरु मैनाली र भण्डारीले जातीय नरसंहार भड्काउने गरी नयाँ आन्दोलनको बिजारोपण गरेको बताए।
काठमाडौं, वैशाख १९ : जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलाविरुद्ध शुक्रबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ।
अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन्।
जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुमपश्चिमले दिएको आदेशलाई उच्चले बदर गरिदिएपछि शुक्रबार दलित अभियन्ताहरुले विरोध जनाए।
दलित अभियन्ता खगेन्द्र सुनारले न्यायाधीशहरु मैनाली र भण्डारीले जातीय नरसंहार भड्काउने गरी नयाँ आन्दोलनको बिजारोपण गरेको बताए।
‘सबैभन्दा धेरै मानिसको हत्या भएको घटनालाई सुर्खेतका न्यायाधीशहरु मैनाली र भण्डारीले गलत अभ्यास गरेर न्यायलयप्रति नै आम मानिसको विश्वास टुट्नेगरी काम गरेका छन्,’ उलने भने, ‘जन्मकैद परेकाले ६ जना मात्र मारेका थिए तर यी न्यायाधीशहरुले ६० लाख दलितहरुको हत्या गरेका छन्।’
अहिले आफूहरुका लागि अपराधी र दोषी न्यायाधीशहरू भएको उनले बताए।
उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँभित्रका गलत मानिसहरुले गर्दा अपमान भएको भन्दै पीडितत परिवारसहित धर्नामा बस्ने बताए। उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रर्दशन गर्ने बताए।
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो।
उनीहरूको शव फरक फरक दिन, भेरी नदीको फरक फरक स्थानमा फेला परेको थियो।
घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गरेको थियो।