नयाँ क्रान्ति गर्ने दाहालको उद्घोष
उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए।
काठमाडौं, वैशाख १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।
बिहीबार १३६ औं मे दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए।
‘तपाईहरु राम्रो तयारीमा बस्नुहोस्, हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ । एकचोटी क्रान्ति गर्ने छौं । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ,’ उनले भने, ‘तर राज्य र सरकारमा भएकाहरुले यदि शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गर्ने गल्ती गरे भने, दमनद्वारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न नकेको छैन। नेपालमा पनि सक्दैन।’
अध्यक्ष दाहालले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे।
‘श्रमसँग श्रमिक जोडिएका छन्। हाम्रो विश्वका जेजति प्रगति भएको छ त्यो भौतिक वा अन्य सबैखाले प्राविधिक प्रगति मजदुरहरुको मेहनतको बलमा नै भएको छ। त्यसैले इतिहासको निर्माता र समाज विकासको प्रणेता पनि श्रम र श्रमिकहरु नै हुन्,’ अध्यक्ष दाहालले भने।
नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको अध्यक्ष दाहालले बताए।
उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे।