Kathmandu Press

आन्तरिक सेवा प्रवर्द्धन दशक कार्ययोजना निर्माणको तयारीमा छौं : प्रधानमन्त्री   

‘सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवद्र्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी हुन म आह्वान गर्दछु,’ ओलीले भने।
आन्तरिक सेवा प्रवर्द्धन दशक कार्ययोजना निर्माणको तयारीमा छौं : प्रधानमन्त्री   
फाइल तस्बिर।

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवर्द्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको बताएका छन् । 

एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा विहीबार आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’ को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् । उनले सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढाएको पनि बताए । 

Hardik ivf

‘सरकारले आगामी दशकलाई आन्तरिक सेवा प्रवद्र्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी हुन म आह्वान गर्दछु,’ ओलीले भने। साथै, ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने पनि बताए । 

अर्को एक प्रसङगमा वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने समेत उनले बताए। 

‘श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ,’ ओलीले भने।

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको पनि उनले बताए । ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न तथा सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने भनाई ओलीको थियो। 

विहीबारदेखि शुरु भएको पोर्टलबाट श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हटाइ भौतिक उपस्थिति, प्रक्रियागत झन्झट हटाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजका सम्पूर्ण वर्गलाई नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजान सहयोग गर्ने दाबी श्रम मन्त्रालयको छ । 

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, वैशाख १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्