शिक्षक महासंघ र सरकारविच भएको सहमतिप्रति कर्मचारी परिषद् असन्तुष्ट
गत चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार नौ बुँदे सहमति गर्दै विरोधका सबै कार्यक्रम बन्द गरेको थियो।
काठमाडौं, वैशाख १८ : नेपाल शिक्षक महासंघ र सरकारविच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असहमति जनाउँदै पुनः आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ।
गत चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार नौ बुँदे सहमति गर्दै विरोधका सबै कार्यक्रम बन्द गरेको थियो।
बिहीबार नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै सहमति र आन्दोलन फिर्ता अस्वीकार गरेको छ। विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले एक विज्ञप्ति जारी गर्दै असन्तुष्टी व्यक्त गरेका हुन्।
अध्यक्ष तिवारी र महासचिव योगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनप्रश्चात् मिति २०८२÷०१÷१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्ण रूपमा असहमति रहेको बेहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणाबाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ । साथै, थप कार्यक्रम समीक्षा बैठकपश्चात् कार्यक्रमहरू सार्वजनिक गरिने समेत सबैमा जानकारी गर्दछौँ ।’
