बालुवाटारमा सत्तापक्षीय दलको बैठक, गगन थापा गएनन्

काठमाडौं, वैशाख १७ः सत्तापक्षीय राजनीतिक दलको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय राजनीतिक दलको बैठक आह्वान गरेका थिए।
यसअघि पनि थापा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित भएका थिए। थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको आरोप समेत लगाएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसदका दुवै सदनमा प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा सत्तापक्षीय राजनीतिक दलको बैठक आह्वान गरिएको थियो।
छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए।