भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि भएको छैन : डा.बाबुराम भट्टराई
उनले समस्याहरु समाधान गर्न इपिजीले काम गर्न सकेको र नयाँ विधि अपनाएर समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिएको बताए।
काठमाडौं, वैशाख १६ : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि नभएको बताएका छन्।
मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरुबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन्।
‘भारतमै चासो भएको विषय के रहेछ भने जुन भिन्न प्रकृतिका आन्दोलन भइरहेका छन्। त्यो कतै व्यवस्थाकै बिरुद्धमा जाने आन्दोलन त होइन यो यसले लोकतन्त्रलाई नै प्रतिकुल असर पर्नेगरी पछाडि फर्कने ढंगले त जादैन भन्ने आशंका चै रहेछ। हाम्रो व्यवस्था सुरक्षित छ भन्ने विश्वास गराएको छु । त्यहाँ केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ। तर भारत सरकार आफैँ र । त्यहाँको मुख्य शक्तिहरुको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन, हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्नेकुरा नै आयो। हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन।’
उनले नेपाल भारतको सम्बन्धको ऐतिहासिकतालाई कुनै पनि ढंगले अल्झिएर समय खेर नफाली बार्ताबाट समस्या हल गरेर जानुपर्ने बताए। उनले समस्याहरु समाधान गर्न इपिजीले काम गर्न सकेको र नयाँ विधि अपनाएर समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिएको बताए।
‘नेपाल—भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति इपिजी नै सम्बन्ध राम्रो उपाय थियो । तर त्यो विषयमा बुझ्दा के देखियो भने इपिजीले काम गर्न सकेन भन्नेकुरा त्यहाँको उच्च तहसम्म करिव करिव निर्णय जस्तै भइसकेको रहेछ । इपिजी स्वीकार्य नभएको अवस्थामा त्यसमा किचलो गर्नुको सट्टा अर्को विधि खोज्नुपर्छ भन्ने कुरा आयो । त्यसो हो भने उच्च तहका नेताहरु प्रधानमन्त्री तहमै वार्ता र संवाद हुनुपर्छ भन्ने कुरा गरेको छु । दुवै तर्फबाट एउटा वातावरण बनाउन हामी लाग्नुपर्छ । यसलाई गिजोलेर हामीलाई फाइदा हुँदैन । यो हल नहुँदा हामीलाई नै घाटा बढिरहेको छ । त्यसैले हामीले नै धेरै अन्य कुरा पछि हल गर्ने ढंगले नेपालको अर्थतन्त्रमा परेका असरका विषयहरु, खुला सीमानाले पारेका समस्याका कुराहरु छन् । त्यसमा समाधान दिनुपर्छ,’ उनले भने।

