काठमाडौंवासीलाई संक्रमणमुक्त राख्न अवतजावतमा कडाई आवश्यक : मेयर शाक्य
काठमाडौं, वैशाख २२ : काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले आवत–जावतमा कडाई गर्नुपर्ने बताएका....

काठमाडौं, वैशाख २२ : काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले आवत–जावतमा कडाई गर्नुपर्ने बताएका छन्। ‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमित बढिरहेका छन्, उनले भने, ‘यस्तो समयमा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ।’
उनले अहिलेको समयमा आवत–जावतमा कडाई नगर्ने हो भने ठूलो समस्या आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौं पठाउने होडबाजी गर्दा त्यसले थप समस्या सिर्जना गर्न सक्छ,’ उउनले भने, ‘यो विपद्को समय हो, यस्तो समयमा सबै राजनीतिक दलले दल भन्दा माथि उठेर सामूहिक धारणसहित समाधानको बाटो खोज्नुपर्छ। विभिन्न संघ–संस्था र नागरिकले पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुको अर्को विकल्प छैन।’
उनले जिल्लाबाट काठमाडौं फर्कनेको संख्या बढ्दै जाने हो भने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने र त्यसले झन जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन सबैलाई आग्रह गरे। ‘राजधानीमा रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्ने, बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका भएका व्यक्तिलाई परीक्षणको दायरामा ल्याउनेलगायतका कार्यमा पनि सामूहिक प्रयास आवश्यक रहेको उनल बताए।
प्रमुख शाक्यले काठमाडौं संघीय राजधानी समेत भएका कारण सरकार र राजनीतिक दलको समेत सामूहिक प्रयास आवश्यक भएको उल्लेख गरे। ‘यो संघीय राजधानी हो। यहाँ ७७ बटै जिल्लाका नागरिक बसोबास गर्दै आएका छन्,’ उनले भने, ‘आवत–जावतलाई कडाई नगर्ने हो भने यहाँ कोरोना संक्रमण सजिलै फैलिन सक्छ र नियन्त्रण गर्न मुस्किल पर्छ। त्यसैले यसको समाधानका लागि नाकामा कडाई गर्ने, उपत्यकावासीको जीवनयापनलाई सहज बनाउन सबै राजनीतिक दल र जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ।’
काठमाडौं महानगरपालिकाबाट मात्रै लकडाउन अवधिभर ८० हजार बढीलाई राहत वितरण गरेको र एक लाख बढीलाई खाना खुवाउने काम गरेको भन्दै प्रमुख शाक्यले यसमा पनि व्यवहारिक कठिनाई हुने गरेको बताए। ‘हामीले वडा–वडामा विभिन्न परोपकारी संस्थाहरुसँग समेत सहकार्य गरेर सामूहिक निःशुल्क मेस चलाएका छौं। ती मेसमा सामाजिक दूरी कायम गर्ने, खानाको गुणस्तरमा ध्यान दिने, अतिविपन्न, असाहय र मजदुरलाई प्राथमिकता दिने भनेका छौँं’ शाक्यले भने ‘निःशुल्क भनेपछि लक्षित बर्ग बाहेक अरु पनि आउने भिडभाड हुने जस्ता समस्या आएका छन्। यसलाई न्युनिकरण गर्न पनि सामूहिक प्रयास आवश्यक छ।’
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लागि सामूहिक प्रयासबाट ढुक्कसँग बस्ने वातावरण निर्माणका लागि सबै राजनीतिक दल, संघ–संस्था र जिम्मेवार निकायसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै प्रमुख शाक्यले यसका लागि सबैको एउटै धारण बन्नुपर्ने बताए।‘ठूला राजनीतिक दलका शीर्ष नेता र अहिलेको सरकारका मन्त्रीसमेत काठमाडौंबाटै जननिर्वाचित हुनुहुन्छ। त्यसैले मेयर एक्लैले बोलेर वा गरेर मात्रै पनि यो विपद्का बेला ढुक्कको वातावरण निर्माण हुँदैन’ उनले भने, ‘त्यसैले यस्तो बेलामा यो वा त्यो पार्टी भनेर कमीकमजोरी खोज्दै आरोप–प्रत्यारोप गर्ने भन्दा पनि काठमाडौंवासीलाई भयमुक्त वातावरण सिर्जना गर्नेतर्फ सामूहिक धारण बनाएर अघि बढ्ने कुरामा केन्द्रित हुनुपर्छ।’











