माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजिनामा
माओवादी सांसद महेन्द्रबहादुर शाहीले सरकारले आन्दोलनकारीका कुरा नसुनेको भन्दै पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको बताए।
काठमाडौं, वैशाख १६ : प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
शिक्षक र चिकित्सक आन्दोलनमा रहेको, कर्मचारीहरु समेत आन्दोलनमा जाने तयारीमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरिएको हो। माओवादी सांसद महेन्द्रबहादुर शाहीले सरकारले आन्दोलनकारीका कुरा नसुनेको भन्दै पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको बताए।
राप्रपाकी सांसद रोशन कार्कीले पनि सरकारले आन्दोलनमा उठेका माग नसुनेको भन्दै सरकारको आलोचना गरिन्। कार्कीले सहकारी पीडित महिलाहरुले अर्धनग्न प्रदर्शन गरेको बताउँदै उनले त्यसरी महिलाहरुलाई प्रदर्शन गर्न सरकारले नै बाध्य पारेको भन्दै आलोचना गरिन्।
मंगलबारको बैठकमा शिक्षकका मागबारे संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलबारको बैठकको कार्यसूचीमा राखिएको छैन । संसद बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए।
विपक्षी दलका सांसदले शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेको बताउँदै उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्नुपर्ने माग गरे।