जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षीको आपत्ति
प्रमुख सचेतक पाण्डेले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न चासो नदेखाएको आरोप लगाए।
काठमाडौं, वैशाख १६ : विपक्षी दलहरूले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा नराखिए पछि विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकका माग सम्बोधनका लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए। तर, मंगलबारको बैठकको कार्यसूचीमा त्यो प्रस्ताव कार्यसूचीमा नपरेपछि प्रतिपक्षी दलहरूले आपत्ति जनाए।
मंगलबारको प्रतिनिधिसभा बैठक बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न चासो नदेखाएको आरोप लगाए।
उनले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा सरकार पानी र बुट बजार्ने काममा लागेको आरोप समेत लगाए।
सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए।
उनले भने, शिक्षकहरु लामो समयदेखि सडकमा हुनुहुन्छ । यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौं । तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौं । सरकार जनताप्रति र सदनप्रति कति गैरजिम्मेवार छ।’
त्यस्तै उनले चिकित्सकहरुको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको भन्दै त्यस विषयमा रकारले सदनमा आएर जानकारी गराउन पनि माग गरे।