राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै थापाले भने- राष्ट्रवादीहरु एक ढिक्का बन्नैपर्छ
उनले राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भएपनि अहिलेको घडीले राजेन्द्र लिङ्देनको सक्रिय सहभागितता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको बताए।
काठमाडौं, वैशाख १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरु एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन्।
सोमबार सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ छ।
‘एकातर्फ राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला पनि यदी हामी एक ठाउँमा उभिन सकेनौं भने इतिहासले सराप्ने छ,’ उनले भने, ‘राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण त्यसैले केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं।’
उनले राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भएपनि अहिलेको घडीले राजेन्द्र लिङ्देनको सक्रिय सहभागितता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको बताए।
‘नवराज सुवेदी कुनै स्वार्थ नभएर अब राजनीतिक जीवनको अन्तिम चरणमा पुग्नुभएको व्यक्ति यो अभियानलाई संयोजन गर्नको लागि अग्रसर भएर आउनुभएको छ । जेजस्तो भएपनि एउटा विशिष्ट परिस्थितिमा संयोजक भएर आउनुभएको छ,’ उनले भने, ‘आवश्यक प्रवन्ध मिलाएर सबै एकजुट भएर मलाई सार्वजनिक रूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मेरो अत्यन्तै प्रिय भाइ हो। राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ ।’
त्यस्तै अध्यक्ष थापाले सरकारले हिन्दुराष्ट्र राजतन्त्रको आवाज उठायो भने संघर्ष गर्यो भने वा धर्मनिपेक्ष गणतन्त्रको विरोधमा आवाज उठायो भने २५ वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँ जरिवाना गर्नेगरी कानुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाए।
सरकारको यस्तो काम कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिँदै उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी कानुन बनाएका देशमा आगो बल्ने बताए।