स्वास्थ्य उपकरण खरिदमा २१ करोड भ्रष्टाचारको अभियोग

काठमाडौं, वैशाख १५ : मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा २१ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहलगायत विरुद्ध भ्रष्टाचारको अभियोग लगाएको छ।
यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साहलाई पनि भ्रष्टाचारमा अभियुक्त कायम गरिएको छ।
यस्तै, माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि भ्रष्टाचारमा मुद्दा चलाइएको छ।
अख्तियार अनुसन्धानबाट स्वास्थ्य उपकरण खरिदमा कुल २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको हानीनोक्सानी भएको दाबी गरिएको छ । अख्तियारले सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित लाई समेत प्रतिबादी बनाएर सजाय माग गरिएको छ ।
अख्तियारले स्वास्थ्य उपकरण खरिदमा फरक फरक रुपमा अदालतमा चार वटा मुद्दा दायर गरेको छ । आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित समेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध१९ करोड ४६ लाख १३ हजार एक सय २० बराबरको बिगो दाबी गरेको छ।
यता, मधेश प्रदेशका विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा समेत भ्रष्टाचार भएको दाबीसहित पाँच करोड एक लाख ९० हजार ८० बराबरको बिगो दाबी गरिएको छ ।












