Kathmandu Press

कोरोना परीक्षणको दायरा बढाउन कांग्रेस प्रमुख सचेतक खाँणको माग

काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क....

कोरोना परीक्षणको दायरा बढाउन कांग्रेस प्रमुख सचेतक खाँणको माग

काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएपछि कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।  

प्रमुख सचेतक खाँणले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी प्रदेश पाँचमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराएका हुन्।  कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।

संक्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन उनले आग्रह गरेका थिए।

त्यसैगरी, रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का  भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएकाले उनको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाँणले जोड दिएका थिए।

साथै स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह गरेका थिए। जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने बताएको खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, वैशाख २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्