लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै
काठमाडौं, वैशाख २२ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्न ....

काठमाडौं, वैशाख २२ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्न लागेको छ।
अहिले केहीबेरमा सिंहदरबारमा बस्ने उच्चस्तरीय समितिको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल हुने जनाएको छ। कोरोना संक्रमणको अहिलेको अवस्था, सम्भावित जोखिम र लकडाउनले पारेको असरबारे समीक्षा हुने भएको छ।
गत चैत ११ गतदेखि लकडाउन गरिएको थियो। आज लकडाउनको ४२औं दिन हो। सरकारले वैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ। त्यसपछि के गर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने जनाएको छ। लकडाउनलाई केही खुकुलो बनाउने विषयमा पनि छलफल हुने भएको छ।
कोरोनाको संक्रमणको जोखिम हेरेर केही स्थानमा खुकुलो बनाउने र केही स्थानमा कडाइ गर्ने नीति अबलम्बन गर्न सकिने जनाएको छ।योसँगै भारतको अवस्थालाई पनि ध्यानमा राखिने भएको छ। भारतमा जेठ ४ गतेसम्म लकडाउन छ। संक्रमण पनि बढ्दै गएको छ। खास गरि भारतसँग सीमा जोडिएका जिल्लामा के गर्ने भन्ने तय हुनेछ।
अहिलेसम्म नेपालमा ७६ जनामा कोरोना देखिएको छ। आइतबार बाँकेमा १५ जनामा कोरोना देखिएपछि उच्चस्तरीय समितिको बैठकमा विस्तृत छलफल गर्न लागिएको जनाएको छ।











