कोरोना परीक्षणको लागि सेनामार्फत जर्मनबाट कीट ल्याइँदै
काठमाडौं, वैशाख २२ : सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ। पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पीसी....

काठमाडौं, वैशाख २२ : सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ। पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पीसीआर र आरडीटी परीक्षणको लागि आवश्यक सामग्री ल्याउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो।
मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडीटी कीट ल्याएको थियो। अहिले ती सबै आरडीटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन। 'पहिले आएका सबै कीट हामीले परीक्षणका लागि सबै ठाउँमा पठाएका छौँ,' उनले भने, 'परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट कीट ल्याउँदैछौँ।'
पीसीआरबाट भने क्षमताअनुसार परीक्षण गरिएको छ। पीसीआर पनि थोरै भएकाले अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्ने भनेर राखिएको उनले जानकारी दिए। सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन्। पीसीआर र आरडीटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ। त्यसमध्ये पीसीआर विधिबाट १३ हजार ४१४ र आरडीटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ।











