अमेरिकाका प्रमुख शहरमा गुञ्जिए डा. नवराज लम्साल
नेपाली कविता गीत र सञ्चारका अब्बल व्यक्तित्व लम्सालले अमेरिकामा रहेका नेपालीहरुलाई कविता सुनाएर मन्त्रमुग्ध बनाएका हुन् ।
न्युयोर्क, वैशाख ८ : अमेरिकामा रहेका साहित्यकार एवं बरिष्ठ रेडियोकर्मी डा. नवराज लम्साल यतिबेला प्रमुख शहरहरूमा गुन्जिरहेका छन् । नेपाली कविता गीत र सञ्चारका अब्बल व्यक्तित्व लम्सालले अमेरिकामा रहेका नेपालीहरुलाई कविता सुनाएर मन्त्रमुग्ध बनाएका हुन् ।
अमेरिकामा रहेका नेपालीहरू यतिखेर कविता र गीतको अन्तर बहसमा जुटेका छन् र नवराज लम्सालका बाणी सुन्न आतुर छन्। एकपछि अर्को कार्यक्रम तय भएका छन् । उनी अमेरिका ओर्लिएदेखि कार्यक्रम नभएको कुनै दिन छैन। रेडियो नेपालका पूर्व निर्देशक समेत रहेका लम्साल महाकाव्यमा मदन पुरस्कार विजेता कवि हुन्। उनले अग्नि महाकाव्य लागि २०७८ सालको मदन पुरस्कार जितेका हुन्। लामो समय बिबिसीमा पनि काम गरेको अनुभव पनि छ उनीसँग। यतिखेर अमेरिकामा रहेका नेपालीहरूका बीचमा लम्साल आफ्नै पनि रमाइरहेका छन् ।
कतिले नवराज लम्साललाई आफ्ना रचना सुनाइरहेका छन् त कतिले नवराज लम्साललाई सुनिरहेछन् । उनले कविता मात्रै सुनाएका छैनन्, कवितामाथिको बहस र विश्लेषण पनि सुनाएका छन्। उनले गीत कविता र सञ्चारका अनुभवहरू सुनाइरहेका छन्। धादिङको कथा, रेडियो नेपालको अनुभव, बीबीसीको सन्दर्भ, महाकाव्य लेखन र मदन पुरस्कारसम्म फैलिएको उनको व्यक्तित्वको पाटाहरूसँग जोडिएका रोचक कथाहरू सुनाइरहेका छन्। उनलाई भेट्ने र कार्यक्रम तय गर्नेहरूको होडबाजी नै छ।
गहिरो अध्ययन गर्ने साहित्यकार तथा सञ्चारकर्मीका रुपमा चिनिएका लम्साल राम्रा वक्ता पनि हुन्। सरल स्वभावका उनी युवा पुस्ताका बीच असाध्यै लोकप्रिय छन्। उनी रेडियोमा जमेको बेला उनका श्रोता रहेकाहरु यतिखेर अमेरिकामा छन्। नवराज लम्साललाई भेटेर अमेरिकामा रहेका नेपालीहरू नोस्टल्जिक भएका छन् र तिनले रेडियो नेपालको शैलीमै बोल्न आग्रह गरिरहेका छन् । उनी तिनै युवाहरूका बीचमा बसेर आफ्ना अनुभवहरू सुनाइरहेछन्, जो उनका खाँट्टी फ्यान हुन् । औपचारिक कार्यक्रमका अतिरिक्त पनि नवराज लम्साललाई सुनौँ भन्ने शीर्षकमा उनी अमेरिकाभरि गुन्जिरहेका छन् ।
अप्रिल ८ मा न्युयोर्क आइपुगेका उनलाई नेपाली जनसम्पर्क समितिले पहिलो दिन नै स्वागत गरेको थियो। त्यही कार्यक्रममा उनले आफ्नो वक्तृत्व क्षमता, रचनाको ताकत र बाक चतुरता प्रमाणित गरे। राजनीतिक रूपमा दीक्षित र तुलनात्मक रुपमा अगुवा मानिने जनसम्पर्क समितिका नेताहरूका बीचमा उनले आफ्नो काव्य क्षमता प्रदर्शन गरे। न्युयोर्कपछि लङ आइल्यान्ड पुगेका लम्साल नयाँ वर्ष साँझ कार्यक्रममा देखा परे । नेपाली पोशाकमा नेपालीहरूका बीच रमाइरहेका लम्साललाई स्थानीयहरूले सम्मान गरे ।
युवा पुस्तालाई उनले दीक्षित र प्रशिक्षित गरे। लङ आइल्यान्डबाट बाल्टिमोर पुगेका लम्साल बाल्टिमोरका विभिन्न कार्यक्रमसँगै वासिङ्टन डिसी, पेन्सिलभेनिया र भर्जिनिया हुँदै यतिखेर उनी ओहायोमा छन् । ओहायोमा उनका थप तीनवटा कार्यक्रम तय भएका छन्। स्थानीय आयोजकहरूका अनुसार उनी कोलम्बसमा सुनिने छन् । उनी क्यान्टोकी पनि पुग्नेछन् ।
नेपाली युवाहरूका बीच लोकप्रिय रहेका र साहित्यलाई जीवनसँग जोडेर स्कुलका विद्यार्थीहरुलाई समेत साहित्य र संस्कृतिको प्रभाव पार्दै हिडेका लम्साल पछिल्ला दिनमा साहित्यिक विस्तारको अभियानमा छन्। ओहायोपछि उनको यात्रा सन फ्रान्सिसको हुनेछ । त्यहाँ नेपालीहरूको बाक्लो बस्ती छ। डाक्टर लमसालका अनुसार उनी २००७ मा अमेरिका आउँदा उनी लसएन्जल्सको एउटा होटलमा सुनिएका थिए । त्यहाँ एएनएको रजत महोत्सव थियो। रजत महोत्सवको सांगीतिक साँझलाई उद्घोषण गरेका लम्साल यसपटक त्यही होटेल हेर्न पुग्नेछन् ।
मे को पहिलो हप्ता उनी कोलोराडोमा आउनेछन् । कोलोराडोबाट न्यूयोर्क फर्केर त्यहीँ केही कविता साँझमा उनी सुनिनेछन्। डाक्टर लम्सालका तीन महाकाव्य सहित आठ पुस्तक प्रकाशित छन्। नेपाली आधुनिक तथा चलचित्र गीतका सिद्धहस्त गीतकार लम्सालका करिब ५०० गीत रेकर्ड भएका छन्। कार्यक्रमहरूमा कविताका अतिरिक्त आफूले लेखेका गीतहरू पनि सुनाइरहेका छन्।