Kathmandu Press

सभामुख सापकोटाद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल

काठमाडाैं, वैशाख २१ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का....

सभामुख सापकोटाद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल

काठमाडाैं, वैशाख २१ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्। 

सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। छलफलका क्रममा सभामुख सापकोटाले संघीय संसद्का तर्फबाट गर्न सकिने सबै पूर्वतयारी गर्न निर्देशन दिएका थिए।

संघीय संसद् सचिवालयले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद् भवनमा यही वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरुको बसाइ व्यवस्थापन गरिरहेको जनाएको छ। 

यही वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले संघीय संसद् भवनको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन र सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो।

टोलीले सांसदहरुका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एकजना सांसदले बोलिसकेपछि सानिटाइज गरेर मात्रै अर्को सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा सानिटाइजर राख्न, बैठक कक्षको ‘सेन्ट्रल एसी’ नचलाउनेलगायतका सुझाव दिएको थियो। 

यसैबीच संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुवै सदनको छैटौँ अधिवेशन यही वैशाख २६ गतेदेखि शुरु हुँदैछ। नेपालको संविधानअनुसार, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बर्खे अधिवेशन आगामी शुक्रबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी आह्वान गरेका हुन्। संघीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सूचना जारी गरेको छ। 

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्