‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ बोलको गीत सार्वजनिक
उक्त कार्यक्रममा बोल्दै मेयर पण्डितले आफ्नो मुलुक पराईले कब्जा गरेपछि आफ्नो प्राण जोगाउन भाग्नु पर्दाको पिडाबोध भोग्नेले मात्र गर्न सक्ने बताए ।
काठमाडौं, चैत २९ : सन् १९५९ मा चीनले तिब्बतमाथि फौजी आक्रमण गर्दै स्वसासित बनाएपछि निर्वासन रोज्न विवस हजारौं मानिस छिमेकी देश नेपाल र भारत पुगे ।
यसरी नेपाल शरण माग्दै आइपुगेका तिब्बती शरणार्थीलाई नेपाल सरकारले देशको बिभिन्न स्थानमा शरणार्थी क्याम्पको स्थापना गरी बस्ने व्यवस्था गरिदियो ।
यिनै क्याम्पहरु मध्येको तनहुँको शुक्ला गण्डकीमा रहेको ‘जम्पालिङ टिवेटन सेटलमेन्ट क्याम्प’ स्थापनाको पचास वर्ष पार गरेको उपलक्ष्यमा हालै तनहुँको दुलेगौंडामा एक भव्य कार्यक्रम आयोजना गरियो ।
शुक्ला गण्डकी नगर पालिकाका मेयर कृष्णराज पण्डित, टिवेटन समुदायका अगुवालगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा टिवटेन समुदायलाई सहयोग गर्ने व्यक्तित्व र टिवटेन समुदायको अग्रजहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै मेयर पण्डितले आफ्नो मुलुक पराईले कब्जा गरेपछि आफ्नो प्राण जोगाउन भाग्नु पर्दाको पिडाबोध भोग्नेले मात्र गर्न सक्ने बताए ।
‘रगत जमाउने ती अफ्ठयारा हिमचुचुरा पार गरेर यहाँसम्म आउनुभयो । यहाँ आएर पनि आफ्नो धर्म, संकृति भाषालाई जोगाएर राख्नु प्रंसशायोग्य कार्य हो,’ पण्डितले भने । उनले जीवनको सुरुवात नै अफ्ठ्यारो अवस्थाबाट सुरुगर्न बाध्य तिब्बती ‘भाइबैनी’ लाई आफूले सक्दो सहयोग गर्ने पनि बताए ।
उक्त कार्यक्रमा नेपालले तिब्बती शरणार्थीलाई दुःख र पिडाले ब्याप्त भएको बेला गास र बास दिएर जीवन जोगाएको भन्दै ‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ बोलको गीत सार्वजनिक गरिएको थियो । उक्त गित साहित्यकार मालिका केशरी र हिसीले रचना गरेका हुन् । संगित र स्वर काल्साङको रहेको छ।
‘नेपालले हामी र हाम्रो समुदायलाई कहिल्यै तिरेर तिर्न नसकिने गुन लगाएको छ।
मेरा पितापूर्खा जीवनको जोगाउन यहाँ आए । मेरो जन्म यही माटोमा भयो । केही परको नेपाली बस्तिमा जन्मेको वालक जसरी हुर्कियो, म पनि त्यसरी नै हुर्किंए,’ गीतको सार्वजनिक गर्नाको कारण खोल्दै हिसीको भनाई थियो, ‘सम्पूर्ण नेपालीले हामीलाई माया ममता दिए । नेपाल सरकारले आश्रय दियो । हामीले अरु केही दिन नसके पनि मनदेखि आभार ब्यक्त गर्न सक्छौ । धन्यवाद भन्न सक्छौं । यो गीत सम्पूर्ण तिब्बतीको मनको आवाज हो । हामी नेपाल र नेपाली सदा खुसी सुखीभएको हेर्न चाहन्छौं ।’