विद्यार्थीलाई निःशुल्क इन्टरनेटको व्यवस्था गर्न नेविसंघको माग
काठमाडौं, वैशाख २१ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गरेको छ।
आइतबार नेपाल टेलिकमका महा....

काठमाडौं, वैशाख २१ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गरेको छ।
आइतबार नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीलाई भेटेर विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन्।
महामन्त्री थपलियाले इन्टरनेट सुविधा सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन माग गरिएको बताइन्।
महामन्त्री थपलियाले भनिन्,‘इन्टरनेटको सुविधा नभएका ठाउँमा छिटो पुर्याउन, भएका ठाउँमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न तथा विद्यार्थीलाई नि:शुल्क उपलब्ध गराउन टेलिकमको ध्यानाकर्षण गराएका हाैं।'
नेपालमा अहिले करिब ७० लाख विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन्। नेविसंघ महामन्त्रीहरूको टोलीले सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट विद्यार्थीलाई सेवा दिन आग्रह टेलिकमका महाप्रबन्धक अधिकारीलाई गरेको थियो।
लकडाउनको समयमा अनलाइनमार्फत अध्ययन सुरु भइरहेको समयमा विद्यार्थीलाई निःशुल्क सेवा दिन टेलिकमको ध्यानाकर्षणसमेत गराइएको महामन्त्री थपलियाले जानकारी दिइन्।
ज्ञापनपत्र बुझाउन महामन्त्रीहरू थपलियासहित दिपक भट्टराई, बलदेव तिमल्सिना र युवराज पाण्डे पुगेका थिए।











