ताप्लेजुङमा आगलागीबाट सात करोडको क्षति
काठमाडौं, वैशाख २१ : सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । प्रारम्भिक विवरण अनुसार सात करोड ६५ ला....

काठमाडौं, वैशाख २१ : सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । प्रारम्भिक विवरण अनुसार सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको हो ।
सोमध्ये व्यक्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ रु २२ लाख ४७ हजार ७०० को क्षति भएको पाइएको हो । आगलागीले आठ घर जलेका थिए । अन्य केही घरमा आंशिक क्षति भएको थियो ।
आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो । राति करिब १०ः३० बजेदेखि शुरु भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।











