के आजको नेकपा सचिवालय बैठकले विवाद अन्त्य गर्ला ?
काठमाडौं, वैशाख २० : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकले नेकपाभित्र ....

काठमाडौं, वैशाख २० : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकले नेकपाभित्र देखिएको विवादका विषयमा औपचारिक निर्णय गर्ने जनाइएको छ ।
नेकपाभित्र सरकारको कार्यशैलीलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट भएपछि प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्त तीन दिनअघि बसेको सचिवालय बैठकमा दबाब परेको थियो। बैठकमा दाहाल र नेपाल दुवैले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीबाट राजीनामा गर्न बैठकमै दबाब दिएका थिए ।
नेकपाको हाइकमाण्ड मानिने सचिवालय बैठकमै दुई वरिष्ठ नेताहरुले राजीनामा माग गरेपछि तत्कालै ओलीले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव अघि सारेका थिए ।
ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावले दाहाल र नेपाल निकट रहेका गौतम एकाएक ओलीप्रति नरम भएका थिए। तर ओलीले साँच्चिकै गौतमलाई प्रधानमन्त्री बनाउन खोजेका हु्न् कि अलमलाउने गरी मात्रै उक्त प्रस्ताव अघि सारेका हुन् अझै स्पष्ट भएको छैन।
गत चुनावमा पराजित गौतम संविधानत प्रधानमन्त्री बन्न पाउँदैनन्। उनलाई प्रधानमन्त्री बनाउन कुनै निर्वाचन क्षेत्र खाली भएमा त्यहाँ चुनाव लडाएर जितेपछि मात्रै प्रधानमन्त्रीको उम्मेदबार बन्न सक्छन् । यसअघि बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेको थियो ।
तर त्यतिबेला गरिएको सिफारिम ओलीले अझैसम्म कार्यान्वयन गरेका छैनन्। राष्ट्रियसभा सदस्य समेत नदिने ओलीले के प्रधानमन्त्री बनाउन आफ्नो पद छोड्लान त? ओलीको यो प्रस्तावको नेकपाभित्रै धेरैले पत्याएका छैनन्।
आज हुने सचिवालय बैठकमा दाहाल र नेपालले बामदेवलाई प्रधानमन्त्री बनाउने आधार के हो भनेर ओलीलाई प्रश्न गर्ने तयारी गरेका छन्। त्यसमा स्पष्ट कुनै खाका नभए ओलीले राजिनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने अडानमा दाहाल र नेपाल छन्।
ओलीले भने संसदीय दलमा आफ्नो बहुमत भएको देखाउनेगरी नेकपाका सांसदहरुलाई आफ्नो पक्षमा हस्ताक्षर गराउँदै आएका छन्। उद्यपी ओलीको पक्षमा अझै नेकपाका बुहमत प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षर जुटिनसकेको स्रोतको दाबी छ।
सचिवालय बैठकबाट स्थायी समिति बैठकको लागि मिति तोक्न दाहाल र नेपाल लगायत बहुमत सदस्यहरुले आग्रह गर्नेछन्। त्यसमा ओलीको धारणा के हुन्छ ? त्यसले नेकपाको आन्तरिक विवाद कहाँसम्म पुग्छ भन्ने अनुमान गर्न सकिने देखिन्छ।











