प्रदेश १ मा थप पीसीआर ल्याब सञ्चालनमा, दैनिक तीन सयको कोरोना परीक्षण गर्न सकिने
विराटनगर, वैशाख २० : मोरङको विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ ।

विराटनगर, वैशाख २० : मोरङको विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए। उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए।
मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिए। सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश नं १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयवेन्द्र यादवले बताए।
उक्त ल्याबबाट यसअघि वर्डफ्लु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताए। प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो।
कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण
सामाजिक विकासमन्त्री घिमिरेलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ बिरामीका लागि आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले शुक्रबार औषधि हस्तान्तरण गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिश गरेका चार प्रकारका औषधि संघका अध्यक्ष जगराज गिरीले हस्तान्तरण गरेका हुन्। च्यावनप्रास अश्वगन्धा चुर्ण, गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरेको संघले जनाएको छ।
सो अवसरमा मन्त्री घिमिरेले बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड– १९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिए। रासस











