कुलमान र हितेन्द्रदेवको रिट निवेदन ‘हेर्न नमिल्ने’मा
सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तय भएको थियो ।
काठमाडौं, चैत १७ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट निवेदन सर्वोच्च अदालतमा आइतबार ‘हेर्न नमिल्ने’ भएको छ ।
रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तय भएको थियो ।
उक्त इजलासमा रिट ‘हेर्न नमिल्ने’ भएको हो ।
विपक्षी तर्फका कानुनव्यवसायी वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार रहेका कारण ‘रिट हेर्न नमिल्ने’ भएको हो । विद्युत् प्राधिकरणका नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट पनि एउटै इजलासमा परेको थियो
यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आइतबार सर्वोच्चमा झिकाएको थियो ।
यी दुबै रिटमा सर्वोच्चले विपक्षीहरूसँग लिखित जवाफ मागिसकेको छ ।
सरकारले पदबाट बर्खास्त गरेपछि पद बहालीका लागि कुलमान सर्वोच्च पुगेका हुन् भने नवनियुक्त हितेन्द्रमान शाक्य कुलमानको पदावधि सकिएको दाबी लिएर गएका हुन् ।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पहिले आफुले दिएको पुरानो रिटमा निर्णय गरिनुपर्ने मागदाबी गरेका छन् ।