धनुषाको विन्धीमा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार
प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन्। अहिलेसम्म विवरण आउन सकेको छैन।
धनुषा, चैत १७ : जनकपुर उपमहानगरपालिकाको वडा नम्बर–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ।
छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै भएको प्रदर्शनकाक्रममा झडप भएको हो। प्रदर्शनकारीले जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि खुलाउने क्रममा झडप भएको थियो।
प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन्। अहिलेसम्म विवरण आउन सकेको छैन।
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए।
६ महिनाअघि मृतकका बुबा पप्पुको पनि मृत्यु भएको थियो। घटना लगत्तै धर्मेन्द्र पक्राउ परे पनि घटनाका अन्य दोषी भने अझै फरार छन्।
अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्।