लकडाउनमा भारतीय मजदुरलाई ईटाभट्टा व्यवसायीद्वारा राहत
भक्तपुर, वैशाख १९ : लकडाउनले समस्यामा परेका ईटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई व्यवसायीले राहत प्रदान गरेका छन्।
प्रत्येक वर्ष मंसिरबाट सु....

भक्तपुर, वैशाख १९ : लकडाउनले समस्यामा परेका ईटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई व्यवसायीले राहत प्रदान गरेका छन्।
प्रत्येक वर्ष मंसिरबाट सुरु भई जेठसम्म ईटाभट्टामा काम हुने गरेको छ। तर, यो वर्ष लकडाउनका कारण चाँडै नै ईटाभट्टा बन्द गरेपछि मजदुरलाई समस्या भएको छ।
त्यसैले भक्तपुर ईटाभट्टा व्यवसायी संघले ईटाभट्टामा कार्यरत भारतीय मजदुरलाई साप्ताहिक राहत भत्ताको व्यवस्था गरेको छ। लकडाउनका कारण ईटाभट्टा बन्द भइसकेपनि स्वदेश फर्कन नपाएका भारतीय मजदुरहरुलाई हप्तामा ६ सय रुपैयाँं भत्ता दिने व्यवस्था गरिएको संघले जनाएको छ।
भक्तपुर ईटाभट्टा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योंम्बाले शुक्रबार बसेको संघको बैठकले जिल्लाभरीमा ईटाभट्टामा कार्यरत सबै भारतीय मजदुरहरुलाई प्रति हप्ता ६ सय रुपैयाँं राहतस्वरुप भत्ता प्रदान गर्ने निर्णय बताए। उनले भने ‘राहत रकमसहित उनीहरुलाई बस्न, खानेपानी र विजुलीको पनि व्यवस्था इटाभट्टा उद्योगीले उद्योग चलेको समयमा जस्तै दिइरहने निर्णय भएको छ।’
संघको तथ्यांक अनुसार भक्तपुरमा ६६ वटा ईटाभट्टाहरु सञ्चालित छन्। ती ईटाभट्टाहरुमा हाल तीन हजारको हाराहारीमा भारतीय मजदुरहरु कार्यरत रहेका छन्।
भारतीय मजदुरहरु विशेष गरेर ईटाभट्टामा इटा पोल्ने, पोलिसकेको ईटा बजारमा पठाउनका लागि ईटाभट्टाबाट बाहिर निकाल्ने र बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन्।
भारतीयसँग नेपाली मजदुर पनि कार्यरत रहेका छन्। तर, उनीहरु सबै आ–आफ्नो गाउँंं फर्किसकेको संघले जनाएको छ।
ईटाभट्टा व्यवसायीहरुका अनुसार यी ईटाभट्टामा कार्यरत भारतीय मजदुरहरु सिजनभरी ईटाभट्टामै अस्थायी टहरा बनाइ बस्छन्। उनीहरुलाई खाने लाउनेबाहेक विजुली, खानेपानीलगायतका सम्पूर्ण आधारभूत सुविधाहरु सम्बन्धित ईटा उद्योगीले व्यवस्था गर्दै आएका छन्।
संघको निर्णय अनुसार अब गत चैत २० गतेदेखि नै जिल्लाका सम्पूर्ण ईटाभट्टामा ईटा पार्ने काम बन्द गरिएको छ। त्यस्तै, नेपाली मजदुरलाई आ–आफ्नो गाउँंठाउँं फर्काइसकिएको छ।











