Kathmandu Press

सामाजिक सुरक्षामा पहल लिन संघीय संसद् तयार छ : सभामुख सापकोटा

काठमाडौं, वैशाख १९ : सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी म....

सामाजिक सुरक्षामा पहल लिन संघीय संसद् तयार छ : सभामुख सापकोटा

काठमाडौं, वैशाख १९ : सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुभकामना व्यक्त गरेका छन्।

उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असंगठित र संगठित क्षेत्रका मजदुरले रोजगारी गुमाउनुपर्नेसम्मको अवस्था सिर्जना भएकाले राज्यलाई तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन सुझाव दिएका छन्।

 १३१ औँ अन्तर्राष्ट्रिय श्रमिकका दिवसका अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै सभामुख सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका मात्रै नभएर श्रमका लागि विश्व बजारमा पुगेका लाखौँ नेपाली मजदुरका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था आएको उल्लेख गरे।

सन्देशमा उनले भनेका छन्, 'जारी बन्दाबन्दीका कारण उद्योग धन्दा, कलकारखाना तथा निर्माण परियोजना बन्द हुँदा श्रम तथा उत्पादनका काम रोकिने अवस्था छ। आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीसहित सतर्कतापूर्वक श्रममा जाने वातावरण छिट्टै बनाउनुपर्ने राज्यको दायित्व छ।' सभामुख सापकोटाले मजदुर वर्गको ठूलो योगदानबाट बनेको नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेका हक मजदुर वर्गले प्रयोग गर्ने वातावरण छिट्टै बन्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा, 'स्वदेशमै श्रम अवसरको ग्यारेन्टी, श्रमअनुरुपको पारिश्रमिक र मजदुरको सामाजिक सुरक्षाका विषयमा पहल लिन संघीय संसद् सदैव तयार रहेको विश्वास दिलाउँछु' भनिएको छ।

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्