सञ्चारमाध्यमले देशलाई अस्थिरतातर्फ धकेल्ने समाचार सम्प्रेषण गरे : प्रधानमन्त्री
काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशला....

काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको आरोप लगाएका छन् ।
शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय मे दिवसका अवसरमा झण्डै १७ मिनेट लामो भिडियो सन्देश मार्फत शुभकामना दिदैं प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो। आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’
मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ स्वीकार नगर्ने प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने उल्लेख गर्दै आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधाको जोगावट गर्ने समेत उल्लेख गरेका छन् ।
‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।











