Kathmandu Press

सडकमा रगत बगाउन किन तयार भए राहत शिक्षकहरू ?

काठमाडौं, फागुन २० : प्रहरी र राहत शिक्षकहरूबीच सोमबार दिउँसो बानेश्वरमा झडप भएको छ । प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी आन्दो....

सडकमा रगत बगाउन किन तयार भए राहत शिक्षकहरू ?

काठमाडौं, फागुन २० : प्रहरी र राहत शिक्षकहरूबीच सोमबार दिउँसो बानेश्वरमा झडप भएको छ । प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी आन्दोलनकारी राहत शिक्षकहरूलाई तितरबितर पारेको थियो । केही राहत  शिक्षकहरू घाइते पनि भएका छन् ।

राहत शिक्षकहरूले निषेधित क्षेत्र तोडेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । राहत शिक्षक संघर्ष समितिले भने आफ्नो शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै मंगलबार देशभरका सामुदायिक विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ ।  

राहत शिक्षकहरू आखिर किन सडक प्रदर्शनमा उत्रिएका छन् त ?

Hardik ivf

यो प्रश्नको उत्तर खोज्नुभन्दा पहिले राहत शिक्षक भनेको के हो भन्ने बुझ्नु जरुरी छ । 

सरकारी विद्यालयहरूले लामो समयदेखि भोगिरहेको एउटा  समस्या हो – शिक्षकको अभाव । सरकारले अहिलेसम्म सरकारी विद्यालयहरूलाई पर्याप्त शिक्षक उपलब्ध गराउन सकेको छैन । कतिपय विद्यालयले आफ्नै खर्चमा शिक्षक नियुक्ति गरी तलब खुवाउँदै आएका छन् । तिनलाई निजी स्रोतका शिक्षक भन्ने गरिन्छ ।

सरकारी (स्थायी–अस्थायी) र निजी स्रोतका शिक्षकले पनि नपुगेका विद्यालयहरूलाई अल्पकालीन राहत प्रदान गर्ने उद्देश्यले सरकारले विभिन्न दातृ निकायको सहयोगमा शिक्षक नियुक्त गर्न थालेको थियो । राहत कोटामा नियुक्त भएकाले उनीहरूलाई राहत शिक्षक भनिन्छ । 

२०६० सालयता सरकारले झण्डै ४० हजार शिक्षक राहत कोटामा राखेको छ । अहिले तिनै राहत शिक्षकहरू आफ्नो पेशागत सुरक्षा हुन नसकेको भन्दै आन्दोलन गरिरहेका छन् ।

राहत शिक्षकका विभिन्न मागहरू छन्, जसको सार एउटै छ – स्थायी नियुक्ति । 

उनीहरूले संघीय शिक्षा ऐनमै विशेष व्यवस्था राखेर सेवा अवधि गणना गरी आफूहरूलाई स्थायी गर्नुपर्ने मुख्य माग उठाएका छन् । स्थायी नियुक्तिका लागि शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुँदा उमेरको हदबन्दी लाग्न नहुने र आफूहरूलाई अन्य शिक्षक सरह भत्ता, सुविधा र अधिकारको व्यवस्था हुनुपर्ने माग पनि तिनको छ । 

यी माग सम्बोधनका लागि उनीहरूले विगतमा पनि आन्दोलन गरेको थियो । गत असोज २१ गते यस विषयमा शिक्षा मन्त्रालयसँग तीन बुँदे सहमति पनि भएको थियो । 

तर, त्यो सहमति विपरीत आफूहरूको माग नै सम्बोधन नगरी शिक्षा ऐन संशोधन विधेयक पारित गर्न लागिएकोले आन्दोलन गर्नुपरेको राहत शिक्षकहरूको भनाइ छ । 

नेपाल राहत शिक्षक समितिका महासचिव कर्ण बहादुर मगरले काठमाडौं प्रेससँग भने, ‘४० हजार राहत शिक्षकमध्ये ३२ हजारलाई अवकास दिएर रित्तो हात घर फर्काउने नीति ल्याइँदैछ । यो अन्याय विरुद्ध हामीले आन्दोलन सुरु गरेका हौँ ।’

आफूहरूको माग सम्बोधन नगरी ऐन पारित गर्न नदिने चेतावनी मगरले दिए । पेशागत सुरक्षाका लागि राहत शिक्षकहरू सडकमा रगत बगाउन पनि तयार भएको उनले बताए ।

प्रकाशित मिति: १९:३० बजे, सोमबार, फागुन २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्