Kathmandu Press

उर्जा मन्त्रालयको ‘टीओडी’ जाँच समितिमा सर्वोच्चको रोक

सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको संयुक्त इजलासले आइतबार अन्तरिम आदेशमार्फत समितिलाई काम गर्न रोक लगाएको हो। 
उर्जा मन्त्रालयको ‘टीओडी’ जाँच समितिमा सर्वोच्चको रोक

काठमाडौं, चैत ३ : सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगीहरूसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै गठन गरेको ‘टीओडी’ जाँच समितिलाई काम गर्न रोक लगाएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको संयुक्त इजलासले आइतबार अन्तरिम आदेशमार्फत समितिलाई काम गर्न रोक लगाएको हो। 

उद्योगीहरूसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले गत मंसिर २ गते नेसनल कलेज अफ इन्जिनियरिङका प्राडा अरविन्दकुमार मिश्रको संयोजकत्वमा श्रीरामराज पाण्डे र सुजनकुमार काफ्ले सदस्य रहेका तीन सदस्यीय समिति गठन गरेका थिए। 

समिति गठन कानुन र सर्वोच्चको आदेशविरुद्ध रहेको दाबीसहित अधिवक्ता खडानन्द कँडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अधिवक्ता कँडेलको उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो। 

रिटमा सर्वोच्चबाटै फैसला भई निर्णय अन्तिम भएको विषयमा मन्त्रीले प्रशासनिक निर्णयबाट गठन गरेको समिति गैरकानुनी रहेको जिकिर थियो। 

रिट निवेदकको पक्षमा सर्वोच्चको संयुक्त इजलासले मन्त्री खड्का र समितिको नाममा अन्तरिम आदेश जारी गरेको छ।  
 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्