पोखराबाट ६९ पर्यटकलाई काठमाडौं ल्याउने
काठमाडौं, वैशाख १८ : लकडाउनको कारण पोखरामा रोकिएका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौं ल्याउने भएको छ। कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण गर....

काठमाडौं, वैशाख १८ : लकडाउनको कारण पोखरामा रोकिएका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौं ल्याउने भएको छ। कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले पछिल्लो पटक १० दिन समय थप गरेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौं ल्याउन लागिएको हो।
स्वीस राजदूतावासको पहलमा बिहीबार तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौं ल्याउने पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। उनका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो। लकडाउन भएपछि मात्र पोखराबाट विभिन्न समयमा नौ सय ३५ पर्यटकको उद्धार गरिएको छ।
काठमाडौं आउने पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अष्टे«लिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानिया मुलुकका रहेका छन्। काठमाडौंबाट फ्रेन्च राजदूतावासले पेरिसमा मे २ मा विमान चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ।
पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहेका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौं ल्याइएको जानकारी दिए। पोखराका विभिन्न होटल एवं गेष्ट हाउसमा अझै पनि केही विदेशी पर्यटक रहेका र उनीहरुले आफ्नो देशभन्दा यतै सुरक्षित महसुस गरेका पाइएको छ।











