बढी मुल्यमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना
झापा, वैशाख १८ : जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ ....

झापा, वैशाख १८ : जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेकोले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।
उपभोक्ताले बारम्बार कम्प्लेक्सका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि बिहीबार समितिले अनुगमन गरेको थियो। अनुगमनका क्रममा अधिकारीले कम्प्लेक्सले तय गरेको मूल्यको दररेट, बिल र खातासमेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको राईले बताए।
समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यसअघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँचवटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा ३६ हजार रुपैयाँ जरिवाना गरेको थियो।
सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए।
समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ।











