विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
जेनेभा, वैशाख १८ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ। उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले आकस्मि....

जेनेभा, वैशाख १८ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ। उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले आकस्मिक बैठकको जानकारी दिइएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोभिड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिबारे छलफल गर्ने बताएका छन्।
उनले भने, 'हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुनेछ। '
महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिएका हुन्। आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुनेछ ।
यस बीचमा कोभिडको केही औषधिबारेमा पनि कुराकानी हुने बताइएको छ। विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोभिडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन।
गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोभिडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो। त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए।
पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ।











