कोरोनालाई जितेर घर फर्किए १० लाख मानिस
काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ। बुधबारसम्म संसारभरका १० लाखभन्दा बढी मानिस निको भ....

काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ। बुधबारसम्म संसारभरका १० लाखभन्दा बढी मानिस निको भएर घर फर्केका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा ५७ जनामा कोरोना देखिएको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। अन्य ३९ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। उनीहरुकाे स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ।
नेपालमा मात्रै होइन, अन्य देशमा पनि कोरोनाबाट निको हुनेको संख्या विस्तारै बढ्दै गएको छ। गत २४ घन्टामा १० हजारभन्दा बढी मानिस निको भएर घर फर्केका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, बुधबारसम्म १० लाख पाँच हजार दुई जना कोरोनाबाट निको भएका छन्। अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ।
बुधबारसम्म संसारभर ३२ लाख २१ हजार ६ सय १७ जनामा कोरोना देखिएको छ। त्यसमध्ये दुई लाख २८ हजार दुई सय ६३ जनाको मृत्यु भएको छ।
अहिले १९ लाख ८८ हजार एक सय २५ जनाको उपचार भइरहेको छ। उनीहरुमध्ये ५९ हजार आठ सय २२ जनाको अवस्था गम्भीर रहेको छ। अन्य कोरोना संक्रमितको अवस्था सामान्य रहेको जनाएको छ।
अहिलेसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन्। निको हुनेको संख्या पनि सबैभन्दा बढी अमेरिकामै रहेको छ।
बुधबारसम्म देखिएका १० लाख ६४ हजार पाँच सय ७२ जना संक्रमितमध्ये ६१ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने एक लाख ४७ हजार चार सय ४१ जना निको भएका छन्।
त्यस्तै, स्पेनमा एक लाख ३२ हजार नौ सय २९ जना निको भएका छन्। स्पेनमा कोरोना देखिएका दुई लाख ३६ हजार आठ सय ९९ जनामध्ये २४ हजार दुई सय ७५ जनाको मृत्यु भएको छ।
यस्तै, जर्मनीमा एक लाख २३ हजार पाँच सय जना निको भएका छन्। जर्मनीमा कोरोना देखिएका एक लाख ६१ हजार पाँच सय २९ जनामध्ये ६ हजार चार सय ६७ जनाको मृत्यु भएको छ।
कोरोनाको उद्गमस्थल चीनमा भने अधिकांश बिरामी निको भइसकेका छन्। चीनमा कोरोना देखिएका ८२ हजार आठ सय ६२ जनामध्ये ७७ हजार ६ सय १० जना निको भएका छन्। कोरोनाबाट चीनमा चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।
इरानमा पनि कोरोनाबाट निको हुनेको संख्या बढ्दै गएको छ। अहिलेसम्म बिरामी भएका ९३ हजार ६ सय ५७ जनामध्ये ७३ हजार सात सय ९१ जना निको भएका छन्। इरानमा कोरोनाबाट पाँच हजार नौ सय ५७ जनाको मृत्यु भएको छ।
छिमेकी भारतमा पनि विस्तारै निको हुनेको संख्या पनि बढिरहेको छ। भारतमा कोरोना देखिएका ३३ हजार ६२ जनामध्ये आठ हजार चार सय ३७ जना निको भएका छन्। एक हजार ७९ जनाले ज्यान गुमाएका छन्। भारतमा संक्रमण पनि बढ्दै गइरहेको छ।











