प्रदेश २ मा कोरोना संक्रमित भेटिएका क्षेत्र ‘सिल’
जनकपुर, वैशाख १७ : प्रदेश नम्बर २ मा थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि संक्रमित भेटिएका क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ।
....
जनकपुर, वैशाख १७ : प्रदेश नम्बर २ मा थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि संक्रमित भेटिएका क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ।
बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।
वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो। मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो।
त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो। यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए। एकतीस वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा घिमिरेले जानकारी दिए।
त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो। तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। यस प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ।
यस प्रदेशमा १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गराई घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ। अहिलेसम्म चार हजार ९१४ को आरडिटी परीक्षण गरिएको छ। यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेशनमा छन्। रासस











