Kathmandu Press

बाहिरी जिल्लाबाट नगरवासी ल्याउन नसकेपछि मेयरले मागे माफी

काठमाडौं, वैशाख १७ : भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले काठमाडौं, धरान, विरानगर लगायतका ठाँउमा लकडाउनका कारण समस्यामा परेका नागरिक ल्याउने प्रया....

बाहिरी जिल्लाबाट नगरवासी ल्याउन नसकेपछि मेयरले मागे माफी

काठमाडौं, वैशाख १७ : भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले काठमाडौं, धरान, विरानगर लगायतका ठाँउमा लकडाउनका कारण समस्यामा परेका नागरिक ल्याउने प्रयास असफल बनेपछि माफी मागेका छन्। बुधबार विज्ञप्ती जारी गर्दै आलेले नगरवासी ल्याउने आफुहरुको प्रयत्न असफल भएको बताएका हुन्।

उनले संकटको बेला आफ्ना नागरिकलाई साथ दिने आफुहरुको कर्तव्य भएपनि गृहमन्त्रालयको नीति अनुसार नागरिकलाई साथ दिन नसकेको बताएका छन्। भोजपुर नगरपालिकाले आज (१७) गते नगरवासीलाई काठमाडौं लगायतका स्थानबाट बसमार्फत निःशुल्क लैजाने तयारी गरेको र त्यसका लागि गाडी नम्बर, चालकको सम्पर्क नम्बरसमेत सार्वजनिक गरिसकेको थियो।

नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार काठमाडौंबाट ११६ र धरान, विराटनगरबाट ४२ जना नागरवासीलाई लैजाने तयारी थियो। तर, सोमबार गृहमन्त्रालयले यातायात सञ्चालनमा पूर्णरुपले रोक लगाउने निर्णय गरेपछि नगरपालिकाको योजना सफल हुन सकेको थिएन।  

आफ्नो योजना असफल बनेपछि मेयर आलेले आफ्ना नगरवासी जहाँ–जहाँ छन्, त्यहाँका स्थानीय तहलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन्। यस्तै कुनै समस्या परे आफुलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन्।  

‘लकडाउनका कारण काठमाडौं लगायतका जिल्लामा रहनुभएका नगरबासीलाई ल्याउने हाम्रो प्रयत्न थियो। तर, गृहमन्त्रालयले यातायातका साधन पूर्णरूपमा संचालनमा रोक लगाउने निर्णय गरेका कारण हाम्रो प्रयत्न सफल हुन सकेन। यस विषयप्रति नगरप्रमुखको हैसियतले म क्षमाप्राथी छु,’ उनले भनेका छन्,'विपतको घडीमा आफ्ना नागरिकलाई साथ दिनु हाम्रो कर्तव्य हो। यसैअनुरूप राहत वितरणमा हाम्रो पूर्ण ध्यान गएको छ। कोही नागरिक भोको बस्न नपोस् भन्नेमा हामी सचेत छौं। हाललाई भोजपुर नगरपालिकावासी जहाँ–जहाँ हुनुहुन्छ, ज–जसलाई समस्या पर्छ उहाँहरूलाई सहगोग गरिदिनुहुन सम्बन्धित स्थानीय तहहरूलाई अनुरोध गर्दछु। साथै कसैलाई समस्या परे हामीलाई सम्पर्क गर्नु हुन अनुरोध छ।’

 

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्