Kathmandu Press

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन्।
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

काठमाडौं, फागुन १३ : नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ।

लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो। अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दैछ।

यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरुले संयुक्त रुपमा गरेका हुन्।

Hardik ivf

नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गत वर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन्। गीतलाई नयाँ स्वरुपमा भने ब्यान्ड स्वयंले ढालेर केही समययता कन्सर्टहरुमा गाउँदै आएको छ। 

भर्खरै बजारमा उपलब्ध नेपथ्य ब्याण्डको जीवनीमा यस गीतको रोचक पृष्ठभूमि पनि पढ्न सकिन्छ। नेपथ्यका संस्थापकद्वय अमृत गुरुङ र दिपकजङ्ग राणा कुनै समय पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्थे।

एक दिन संगीत जानेका दुई जना ‘गोरा’ उनीहरूको स्कुलमा आइपुगे। हिप्पीजस्ता ती गोराले स्कुलमा सांस्कृतिक कार्यक्रम गर्ने भए। साथमा जादु र चटक पनि देखाउने भनिएको थियो। कार्यक्रमका निम्ति तोकिएको ‘डाइनिङ हल’ मा विद्यार्थीको भिड लाग्यो। त्यो दिन उनीहरूले थुप्रै गीत सुनाए। तीमध्ये धेरैजसो अंग्रेजी थिए। एउटा भने सङ्कलन गरिएको नेपाली लोकगीत थियो।

त्यो गीत सुनाइरहँदा अर्कै कुराले रमाइलो हुन पुग्यो। ती गोराहरूले गितार बजाउँदै उनीहरूको लबजमा ‘दाइको मन कस्तो’ उच्चारण गर्न खोज्थे, जुन ‘डाइको मन क्यास्टो’ सुनिन्थ्यो। यसरी जिब्रो चिप्लिँदा विद्यार्थीहरू खुबै स्वाद मानेर रमाउँथे।

कतिसम्म भने गण्डकी बोर्डिङका केटाहरू पछिसम्मै ‘बहिनी त कस्तो राम्रो’ भन्नुपर्दा ‘क्यास्टो राम्रो’ भन्थे।

जिब्रो र मस्तिष्कलाई प्रभाव पारेको त्यस गीतको सम्झना दीपक र अमृतको स्मृतिमा ताजै थियो।

कालान्तरमा उनीहरूले खोलेको ब्यान्डको दोस्रो एल्बममा सम्झनाबाट निकालेर यो गीतलाई फेरि पस्कने मात्र नभई त्यस एल्बमको नामकरण यसै गीतबाट हुनपुगेको थियो। नेपथ्यको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ सन् १९९४ मा तयार भएको थियो।

‘हिमाल चुचुरे गीतलाई सुरुमा बिग्रिएको जिब्रो अनुसारै क्यास्टो भनेर रेकर्ड गर्ने चाहना थियो,’ संस्थापक एवं गायक अमृत भन्छन्, ‘तर साथीहरूमा मत नमिलेपछि अलिक मिलाएरै तयार पारेका थियौं।’

स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन्।

‘नयाँ पुस्ताको रुचिअनुसार नौला गीतहरू नेपथ्यले सदैव सुनाउँदै आएको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्ने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ कुनै कालखण्डमा ब्यान्डले नै गाएको पुरानो गीतलाई पनि नयाँपन दिँदा त्यस्ता रुचिको सम्बोधन हुन सक्ने आँकलन गरेरै यो गीत यस रुपमा पुनः प्रस्तुत गरेका हौं।’

भर्खरै तयार पारिएको यो म्यूजिक भिडियोलाई यो लिंक Nepathya - Himal Chuchure (Remastered) | हिमाल चुचुरे मा गएर हेर्न सकिन्छ। नेपथ्यका गीतहरु अधिकारिक युट्युब च्यानल Nepathya मा सुन्न र हेर्न  सकिन्छ।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ। युट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन्।

प्रकाशित मिति: २०:५३ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्