Kathmandu Press

बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउँदै महानगर 

काठमाडौं, वैशाख १६ : काठमाडौं महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ। यसअघि अव्यवस्थितरूपमा रहेका परिवार....

बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउँदै महानगर 
फाइल फोटो

काठमाडौं, वैशाख १६ : काठमाडौं महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ। यसअघि अव्यवस्थितरूपमा रहेका परिवार र जरुरी कामले हिँडेका बटुवा र सडकमा भेटिने असहायलाई खाना खुवाउँदै आएकामा महानगरले बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको हो।

कामपा वडा नं ३ ले दैनिक तीन हजार ७०० लाई निःशुल्क खाना खुवाइरहेको छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको समयमा कमजोर आर्थिक अवस्था भएका, आफ्ना कोही नभएका र दैनिक काम गरेर खानुपर्ने वर्गलाई खानेकुराको व्यवस्था गरिएको कामपा वडा–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए।

उनका अनुसार वडाको आग्रहमा बोधिसतुवा बिहारले अव्यवस्थित बस्तीमा भएका परिवार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी दैनिक एक हजार ३०० जनाका लागि खानाको व्यवस्था गरिदिएको छ। त्यसैगरी नारायण गोपाल चोकको एरिकल बैङ्क्वेटका तर्फबाट होम बुढाथोकीले दैनिक बिहान एक हजार जनाका लागि, मेघा पार्टी प्यालेसले दैनिक बेलुकी ८०० का लागि, सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्यूरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी २०० का लागि खाना र पानस पार्टी प्यालेसले लकडाउन व्यवस्थापन गर्न खटिने ४०० राष्ट्रसेवकका लागि खाजाको व्यवस्था गरेको छ।

त्यसैगरी वडाले अहिलेसम्ममा चार हजार ३०० लाई राहत वितरण गरिसकेको छ। राहत वितरणका लागि वडाले चार क्षेत्रमा बाँडेको छ । राहत दिनका लागि वडामा भएका खाद्य पसलबाट प्रस्ताव माग्ने, थोरै मूल्य कबोल गर्नेसँग वडाको हाम्रो सम्झौता गर्ने र कुपन पाएकाले खाद्य पसलमा गएर प्रचलित व्यवस्थाको उलंघन नहुने गरी राहत लिँदै आएका छन्। 

त्यसैगरी कामपाको ३२ वटै वडाबाट भने ६९ हजार ६९१ लाई राहत वितरण गरिसकेको छ।

प्रकाशित मिति: १५:२१ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्